Logo

“नेपाली समाजले खेपेको उत्तेजनाको उत्पीडन”



रामचन्द्र शर्मा

आज उत्तेजना जब्बर रुपमा उदाएको छ । उत्पीडन बिस्फोटको संघारमा छ । संसार एकातर्फ अब के चिजको विकास गर्ने भन्ने विषयको लागि नै अनुसन्धानको प्रतिस्पर्धा गरिरहेको छ। सूचना प्रविधिको माध्यमबाट आफ्ना दिनचर्यालाई कसरी प्रविधिमैत्री बनाउने भन्ने खोजमा छ। विकासोन्मुख देशहरूको पङ्क्तिमा रहेको हाम्रो देश भने समाज सापेक्ष जुन ठाउँबाट आफूलाई संसारमाझ उभ्याउनु पर्ने थियो त्यसरी प्रदर्शन गर्न रुची राख्ने मोडमा नै छैन ।

एकएक व्यक्ति मिलेर गरेको श्रम, यसमार्फत सृजित उत्पादन र यसको पुँजीकरणलाई ऐतिहासिक रूपमा व्याख्या गर्दा समाज विकासको रूपमा बुझ्न सकिन्छ । जति धेरै हामी श्रम अथवा उत्पादनका साधनमार्फत वस्तुहरूको उत्पादन गर्न सक्छौँ अर्थात् त्यतापट्टि पहल गरिरहन्छौँ त्यति नै त्यसले हामीमा व्यावहारिक चेतना भरिदिने गर्दछ । यसको विकास हुँदै विचारको जन्म हुने गर्दछ । सोही विचार नै समाज सञ्चालन र विकासको दर्शन बन्न पुग्दछ । यस्तो बाटोमा नेपाली समाज प्रवेश गर्न सकिरहेको छैन ।

उत्पादन र राजनीतिको सम्बन्ध
समाजको विकासको लागि उत्पादन प्रक्रिया महत्त्वपूर्ण हुन्छ । यस्तो कार्यको लागि उपयुक्त श्रोत र साधनको व्यवस्था गर्ने मूलनीति नै राजनीति हो । यसैले पनि आजको नेपाली राजनीतिक समाजको प्रमुख प्रश्न आर्थिक विकास हुनुपर्थ्यो । आर्थिक विकासको धेरै ठुलो फड्कोपछि मात्र समाजमा प्रष्टसँग आर्थिक रूपमा र सामाजिक रूपमा विभिन्न वर्गहरू सतहमा देखिन थाल्दथे ।

यसो हुँदा सही ढंगले राजनीतिक कार्यदिशा तयार हुने र राज्यमार्फत समग्र पक्ष सम्बोधनको ठोस कार्यक्रम लागु हुन सक्दा उपयुक्त समाधान पनि निस्किरहन्थ्यो । तर हामी कहाँ त्यसो हुन सकेन । बरु पुँजीको विकासलाई नै अवरुद्ध पार्ने गरी अधिकारको विषयलाई मात्र निरपेक्ष रूपमा सतहमा सुगारटान गरियो । फलतः हामी अधिकारकर्मी त जन्माउन सक्यौँ तर मुठीभर बाहेक उद्यमकर्मी जन्माउन भने पूर्णतया चुकिसक्यौँ ।

राजनीतिक अभियानले एक चरण पार गर्दानगर्दै आर्थिक सबलीकरणको लागि उत्पादनको महत्त्व साथै उत्पादन साधन र श्रमलाई सँगै एकाकार गर्नु पर्दथ्यो । त्यसले व्यावहारिक चेतना दिन र जहाँबाट समुन्नत एवं प्रतिस्पर्धी समाज साथै विधिको शासन दिगो रूपमा स्थापित हुने थियो । छद्म राजनीतिक गर्न त एकतर्फी सक्षम भयौँ तर श्रम र उत्पादनका संवाहक बन्नु पर्छ भन्ने सोच्दै सोचेनौँ अथवा रुचि नै राखेनौँ । राजनीति मूल नीति हो । यो बाहेक दोस्रो केही हुँदैन । यो सत्य हो । तर त्यो भन्दा पनि ध्रुव सत्य चेतनाको विकासबाट विचार र विचारको आधारमा मात्र राजनीति हुने र चल्ने हो ।

चेतना कहाँबाट आउँछ त भन्दा उत्पादनका साधनहरूमार्फत गरिने मेहनत र श्रमबाट उत्पादन हुने वस्तुहरू र यसका प्रकारबाट नै चेतना प्राप्त हुने हो। यसप्रकार बुझ्न छोडिदिने परिपाटी नेपाली समाजमा व्याप्त हुँदै गएको देखिन्छ । नेपाली समाजले धेरै आशा राखेको छ तर तिनलाई साकार पार्न मेहनत र धैर्यको महत्त्व बुझ्न नसक्दा आशाहरू असरल्ल बन्न पुगेका छन् । यस्तो अवस्थामा असफल हुने बाटो नै बढी सम्भव देखिने गर्दछ ।

यसै मार्गबाट भट्किँदै आज निराशालाई मात्रै समाजले अँगाल्न पुगेको छ । सफलता र उत्साहमा थप गम्भीर बन्नु पर्नेमा बढी नै हौसिन पुगिहाल्ने गरेको देखिन्छ, तर यात्राको क्रममा अप्ठेरो पनि उत्तिकै परिरहन्छ भन्ने कुराको हेक्का पनि त राख्नुपर्छ नि । यसो हुने क्रममा अप्ठेरो मात्र आउँदैन यसको सँगसँगै सजिलो हुने गरी समाधानको बाटो पनि आफैमा लुकाई लिएर आएको कुरा देख्न र बुझ्न कोसिस नै गर्न सकेको देखिँदैन ।

बरु मनस्थिति नै पराजित गरिदिने उत्तेजनाको सजिलो बाटो रोज्ने गरिएको छ । समाजको विकासक्रममा केही धिमापन, त्रुटिहरू र पीडाहरू निरन्तर आइरहन्छन् र आइरहनु पनि पर्दछ । कुरा यति हो कि पीडाभित्रको जुन मात्रामा प्रचुर आनन्द छ त्यो लिन भने जान्नु पर्दछ एवं खोज्न लाग्नु पर्दछ । अर्कामाथि दोष थोपर्ने र मेहनत एवं श्रमप्रति अरुचि मात्र राख्नु राम्रो होइन । यस्तो विचारलाई फस्टाउन नदिने गरी जुन हाम्रो राजनीतिले प्रधान कार्यसूचीभित्र राखेर नेतृत्व लिने काम गर्नु पर्दथ्यो तर त्यो पनि कहिल्यै भएको देखिएन जुन विडम्बना मान्नुपर्छ ।

सामाजिक अभ्यासको प्रभाब
समाजमा मानिसले मेहनत गर्दछ र आफ्नो जीवनयापन सरल ढंगले गर्नुपर्छ भन्ने सम्झिन्छ । जब सोच अनुरूप एक स्तरमा आफू पुगेको अनुभव गर्दछ तब नजानिदो गरी स्वयंले उसको मेहनत र धैर्यमा नै मन्दी ल्याउँदै गरेको हुन्छ । सँगसँगै उसले ठुलो प्रगतिको बारे पनि सोच्छ । सोच्ने कुरा त एकदम स्वभाविक हो । तर ऊ बिर्सिन्छ र जति ठुलो हुँदै जान्छ उत्ति नै स्वयं खतरा र कमजोर क्षेत्रमा पनि पर्दछ ।

यसलाई रोक्न पहिला गरे भन्दा निकै बढी संयम, मेहनत र श्रमिक लिडरसिपको भावना जगाउनु पर्दछ । तर यो कुरा बिर्सेर कार्य गर्ने सपना देख्नमात्र खोज्नेशैली अपनाइएको पाइन्छ । त्यो खालि त्यसप्रतिको आसक्ति मात्र हो भन्ने बुझ्न गल्ती गरिएको छ । उत्तेजनाको भ्रूण नै आसक्ति हो । यसले मेहनत एवं श्रमलाई अपमान गर्दछ र योजनालाई चिमोट्ने काम मात्र गर्दछ । मानिसमा यही बाटो हुँदै आवेगको सबार हुने गर्दछ । यसको विकास र गन्तव्य नै उत्तेजना हो । जुन समाजको लागि सर्वथा अनुचित एवम् अप्रिय नै हुने गर्दछ ।

व्यक्तिगत उत्तेजना स्वभावजन्य हुन सक्दछ । जसले केही समयसापेक्ष अपवादको रूपमा सकारात्मक परिणामहरू दिएको पनि पाइन्छ । तर सामाजिक उत्तेजनाको हकमा यस्तो अपवाद पनि कहिल्यै सही हुन सक्दैन । आज नेपाली समाज यहीँनेर आएर रुमल्लिइरहेको छ । प्रश्नहरू उठेका छन् जसका उत्तर सफा छन् । समाजमा श्रम र उत्पादनप्रति आज पटक्कै विश्वास छैन । यसो नहुँदा मानिसहरूमा आत्मविश्वास गुम्दै जान्छ ।

उनीहरूले देखेका कोरा सपनाहरू पनि मुर्छित हुँदै जान्छन् । आशाहरू लर्खराउँदै गएका छन् । सबै कुरा गर्ल्यामगुर्लुम ढले जस्ता मात्र लाग्न थाल्छन् । जब यस्तो अवस्थामा हाम्रो समाज प्रवेश गर्दछ कुनै पनि कामकुराको सुरुवात नै नकारात्मक कोणबाट हुन पुग्छ । सबैमाथि प्रश्न नै प्रश्नका ठेलीहरू तयार हुने गर्दछन् । आजको भोलि नगदानगदी फलको बारे मात्र सोच्न पुग्छ । श्रम, उत्पादन र‌ बजारीकरणप्रति बुझ्ने धैर्य नै कुन चराको नाम होला भन्ने जस्तो लाग्दछ । तेस्रो पक्षमाथि घनघोर लाञ्छना , विरोधको लागि विरोध, अवाञ्छित तिकडम, सस्तो लोकप्रियता, हुल हुज्जतमा मात्र रमाउने एडिक्सनमा परे जस्तो लाग्छ ।

जहाँबाट समाधानको कुनै बाटो देख्ने र देखाएको बाटोमासमेत हिंड्न नमान्ने अटेरी र अधीर उत्तेजनाको उत्पीडनमा नेपाली समाजलाई अगाडि मात्र लैजान सक्दछ ।

नेपाली समाजको हिस्सा यति परपीडक बन्दै गइरहेको छ । प्रकृतिविरोधी आत्महत्या जस्तो जघन्य पापलाईसमेत बलिदानीको रूपमा अर्थ्याउन र अन्यमाथि दबाब थुपार्न हतारिन्छ । अर्थात् यसैमा खेती रोप्ने आजको नेपाली समाजको उत्पीडनको पारो के नापिरहनु पर्छ होला र ! एउटा व्यक्तिले समग्र प्रक्रियामा ध्यानभन्दा पनि एक अंश जुन मानिसका भावनासँग क्षणिक रूपमा मेल मात्र खान्छन्, तिनीहरूलाई टपक्क टिपेर उत्तेजना फैलाउँदा प्रभावित हुने हाम्रो युवा समाज झन् जब्बर रूपमा उत्तेजनाको उत्पीडनमा परेको छ ।

आज युवा समाजलाई आसक्तिमा फसाइएको छ । यो प्रकारले समाज लघुताभास र दिशाहीनताको शिकार बन्न पुगेको छ । अर्काका कमजोरीमात्र देखाएर समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरिरहने तर समाधानको ठोस उपचार यो हो भनेर समाजको पथप्रदर्शन नगर्ने कुरालाई उत्तेजनाको उत्पीडन हो भनेर बुझ्न रुचि राखिएको छैन । जसको फल आज नेपाली समाजले साक्षात् रूपमा बेहोर्न बाध्य भैरहेको छ ।

सामाजिक अवस्थाको समिक्षा
सबैका आशा तुसारापात हुँदैछन् । अब केही हुँदैन, जताततै अन्धकार नै अन्धकार छ भनेर मानिसभित्र अन्योल सृजना गरिदिने, नकारात्मक भावना पैदा गराई अधीर बन्न प्रोत्साहन गरिरहने धन्दा कतैबाट आयोजन भएको प्रतीत हुन्छ । यसो गर्दा त्यसभित्र घुसेर अवाञ्छित ढंगले बस्न मिल्ने घर बनाइएको छ । त्यही घरमा सुरक्षित बसेर ती नियोजित तत्त्वहरूले समाजमा उत्तेजनाको व्यापार गरिरहने बारे सोचेको भान हुन्छ ।

अर्थात् समाज र यसका सदस्यहरूको ध्यान अन्यत्र विकेन्द्रीत गरी बहसविहीन अवस्थामा पुर्याउँदै लगेर समाजलाई थाम्न नै नसक्ने उत्पीडन खेप्न बाध्य पारिएको छ । यस्तो अवस्थालाई देखाएर समाज अप्ठ्यारो र असमञ्जसमा परेको ठहर गराइएको छ । बाहिर रंगीन दुनिया जस्तो देखिए पनि भित्री रूपमा कतै समाजमा उभार देखिँदैन, खुसी हराएको जस्तो मसानघाटको सन्नाटाजस्तो मानिसहरूमा बोली बिस्तार रोकिएको छ ।

आज नेपाली समाजले खेपेको थिचोमिचो यहीँ नेर हो, यही खालको हो । जुन समाजका स्वतन्त्र मानिसहरू एकोहोरो र एक पक्षलाई नकारात्मक कोणबाट मात्र बुझ्ने कोसिस गरिरहेका छन् । त्यो एउटा लत पनि गएजस्तो हो । त्यसको उच्च रूप नै उत्पीडन हो । जहाँ नकारात्मक कुरा र निराशा बाहेक केही पनि देख्न छाडिएको छ ।

सामाजिक सञ्जालमा देखिने उत्तेजना र नौरंगी समाचारको भ्युज र त्यसको व्याख्यानको आत्मरतिमा रमाएको मनले अझ राम्रोसँग नेपाली समाजले उत्तेजनाको चरम उत्पीडन खेपिरहेको पुष्टि गर्दछ । समाजका अङ्गहरू परपीडक बन्दै गइरहेको प्रतीति भइरहेको छ ।

उत्तेजना र उत्पीडनको सम्बन्ध
उत्तेजना स्वभावजन्य कुरा हो तर त्यसको जन्म अर्थात् प्रकट हुने परिस्थिति पनि उत्पीडनसँगसँगै तयार भैरहेको हुन्छ । एउटा समाजमा उत्तेजना र उत्पीडन सँगसँगै मिलेर बाँचिरहेका हुन्छन् । उनीहरूको एउटै मूल र साझा उद्देश्य छ । समाजलाई लथालिङ्ग पारिदिने र यसबाट पार लगाइदिने निर्णायक शक्ति आफूहरू नै मात्र हो भन्ने गरी समाजलाई नै दिग्भ्रमित पार्ने कार्य गर्ने । आम मानिसलाइ भ्रममा पार्दै उनीहरुकाका भावनामा ठेस पुर्यानउने रप्रगतिमा बाधा पुर्याउने दुवैको चरित्र रहन्छ र फाइदा नियोजित रूपमा नै उठाउने गर्दछन् । यी दुई पक्ष घर गरेर बस्नुको प्रमुख र निर्णायक कारण हामी र समाजभित्र नै छ ।

मानिसहरूले अन्यको देखासिकी मात्र गरेर ओभर कमिटमेन्ट गर्ने तर यस प्रकारको कार्य सम्पन्न गर्नको लागि योजना र मेहनत चाहिन्छ भन्ने नठानी सिधै भाग्यलाई जिम्मा लगाउने प्रचलन बसाउने गरेर मात्र अगाडि बढ्दा सफल हुन सकिने कुरा भएन । यसको अपजस दोस्रो पक्ष र समाज एवं राज्यमाथि थुपार्ने र आफू भने पानीमाथि बसेर नै ओभानो देखिने परिपाटी बन्दै गइरहेको छ ।

आखिर भ्रमले जहाँजहाँ कमजोरी छ, त्यहीँत्यहीँ उत्तेजना लुकाउँछ नै र बारबार यही कुरा उब्जिरहने गर्दछ र स्वयं मानिसलाई सही र गलत छुट्याउन नसक्ने गरी विचारविहीन बनाउन लाग्छ । यसरी नेपाली समाजलाई पूर्णतया उत्पीडनमा पार्दै लैजान्छ । नेपाली समाजले खेपेको उत्तेजनाको उत्पीडनबाट विचारहरूलाई निरन्तर मार्ने र दफ्नाउने कार्यहरू मात्र गरिरहेको छ, अन्धकारको यात्रामा मात्र हिँडाइरहेको छ । यसरी समाजको पतन सिबाय केही पनि हुन नदिने नियत बोकेको हुन्छ।

संस्कृतिलाइ जीवनसंग बुझ्ने समस्या
कुनै पनि समाजको आत्मा भनेको त्यहाँको धर्म, रहनसहन, संस्कृति र भेषभुषा नै हुन्छ । आधुनिकताको नाममा यिनीहरूलाई पनि सक्काउन खोज्नु नै विचारविहीनताको अवस्थामा पुर्याउनु हो। आध्यात्मिक र भौतिक विषयलाई सँगसँगै लिएर जानु पर्नेमा स्मार्ट हुने नाममा एउटा पक्षमात्र च्याप्दा समाज दूषित र एकांकी बन्दै गैरहेको छ ।

किनकि अध्यात्म भनेको भौतिक कुराको व्यवस्थापन गर्ने सक्ने एक विचार हो जसले भौतिक वस्तुहरू र विकासलाई समाजको विकासको लागि प्रयोग गर्ने थिति बसाल्न र मार्गदर्शन गर्न सक्दछ । तसर्थ बुझ्न खोज्नुपर्छ कि हामीले चाहने हो भने राजनीतिक हिसाबले सुझबुझ राख्नु नै पर्छ । संस्कृतिलाइ महत्व साथ अंगाल्ने बारे नै सोच्नु राम्रो हुने गर्दछ, अन्यलाई विश्वास गर्ने, तर परिणाममा भने जोड गर्ने एवं बुझ्न लाग्नुपर्ने हुन्छ र आर्थिक संवाहक बन्न सक्नेगरि उद्यमकर्म अँगाल्ने र निरन्तर सजीव चेतनाको विकास गर्नेतर्फ लाग्दा बढीभन्दा बढी उत्पादनका सामाग्रीहरू तयार गरी समाजमा भित्र्याउने र उत्पादन बढाउनमा केन्द्रीत हुने सोच समाजले अँगाल्नु पर्नेमा त्यसो हुन सकेन।

यसो हुँदा समाजभित्र आर्थिक सशक्तीकरण र उल्लास ल्याउन सकिन्थ्यो । धैर्य भएर निरन्तर काम गरेदेखि हुँदो रहेछ है, सफल भइन्छ है भन्ने उदाहरणको भावना जागृत गराउँदै उत्तेजना र यसको उत्पीडनलाई रोक्न सकिन्थ्यो, तर त्यसो हुन सकेन । अहिले नेपाली समाजमा रहेको वैरभाव, द्वेष र उत्तेजनाको व्यापारले हामीलाई उत्पीडनमा त पारिसक्यो र भोलि हाम्रो सन्ततीलाई उत्पीडनमा पार्नु र परपीडक बनाउनुबाहेक यसले केही दिँदैन भन्ने बुझ्न अब भने ढिलो गरिनु हुँदैन ।

पारदर्शिता सम्बन्धि बुझाइको अभाव
हामी सोच राख्छौँ स्वच्छन्द पारदर्शी हुनुपर्छ तर यो बुझ्न छोडिदिन्छौँ कि गोप्यताभित्र नै पारदर्शिता बाँच्ने गर्दछ । हाम्रो शरीर नाङ्गो राख्यो भने के हुन्छ ? मूल आत्मा गोप्यता नै नजोगाइ पारदर्शिता भन्ने नै हुँदैन । भयो भने पनि झन् त्यो सारै कुरूप र घृणाले परिपूर्ण विषयवस्तु मात्र बन्न पुग्छ । परिणाममा विश्वास राख्नुपर्नेमा यसको प्रक्रियामा नै कथित पारदर्शिताको डण्डाले प्रहार गर्न आतुर हुनु भएन ।

यसले न प्रक्रिया न परिणाम खालि शून्यता र अराजकता मात्र निम्त्याउँछ र समाज परपीडक बन्न पुग्छ । आज मानिस कहाँ सानो गल्ति भेट्टाउन सकिन्छ भनेर अर्काको देखवालमा मात्र लाग्नकै लागि व्यस्त छ । उसलाई योजना, श्रम र लगानीबिना नै फाईदा चाहिएको छ । यस प्रकारको शोषक विचार समाजले पछ्याउने गरी आधार तयार हुने कुरा सच्च्याउने कुरा नै पारदर्शिता हो जसले उत्पीडन बुझ्न मद्दत गर्दछ ।

निस्कर्ष
समस्या उठ्नुपर्छ संगसँगै समाधान पनि खोज्नु पर्छ । आज आर्थिक साक्षरताको मुख्य जरुरत छ । पहल राजनीतिक योजना, नीति र कार्यक्रम र यसको कार्यान्वयनले मात्र गर्न सक्दछ । बुझाउन नै पर्ने भएको छ । लगानी, श्रम र उत्पादन नै समाजको लागि प्रमुख कुरा हो । यसले नै विचार दिन्छ, योग्य बनाउँछ र समुन्नत बनाउन सक्दछ ।

समुन्नत समाज नै विचार हो, जुन उत्पादन र यसको वितरण गर्ने रणनीतिक अर्थ राख्ने दर्शन बन्छ। त्यही अर्थमा रहेर राजनीति अगाडि बढाउनु पर्दछ । तब मात्र हामी आर्थिक रूपमा बलियो हुन्छौँ र हामीले लोकतन्त्रको सही सदुपयोग गर्न सक्छौँ । देशमा सुशासन ल्याउन सक्दछौँ, आफ्नो बौद्धिकस्तर विकास गर्न सक्छौँ ।

अन्ततः नेपाली समाजले जब्बर रूपमा खेपेको उत्तेजनाको उत्पीडनबाट मुक्त हुन्छौं । अनि देशलाई पनि स्वाधीन एवं समुन्नत बनाउन सक्दछौँ भनेर बुझाउन नै पर्याप्त समय खर्चनु पर्दछ । जय होस् !

रामचन्द्र शर्मा लेखक उद्यम अभियन्ता तथा बन्दीपुर केवलकार एण्ड टुरिजम लि. का अध्यक्ष हुन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार ११:५८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter