धरान वडा नम्बर ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुको घरमा आक्रमण तथा परिवार सदस्यलाई कुटपिट भएको घटनामा पूर्व वडाअध्यक्ष सन्तोष लिम्बुसहित एक दर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएपछि सबै फरार छन्।
आइतबार वडा नं ५ स्थित अधेरी खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रुपमा बनाउँदै गरेको घरमा उपमहानगरले डोजर चलाएको थियो। उक्त घटना पछि पूर्व वडाअध्यक्ष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुको नेतृत्वमा रहेको समूह वर्तमान वडाअध्यक्ष मनप्रसादको घरमा आक्रमण गर्न गएको थियो।
उक्त समूहले वडा अध्यक्षको घरमा रहेकी ८३ बर्सिया वृद्धासहित महिला सदस्यहरुलाई गालीगलौज तथा अपशब्द बोल्ने, पुरुष सदस्यहरुलाई कुटपिट गरेका थिए। वडा अध्यक्षकै घरमा गुण्डागर्दी शैलीमा आक्रमण र कुटपिटको घटना भएपछि वडा नं ५ मा त्रास फैलिएको थियो।
उक्त घटनाको बेला घरमा नभएका वडाअध्यक्ष लिम्बुले शान्ति सुरक्षाको माग गर्दे घटनामा संलग्न रहेको भन्दै पूर्व वडाअध्यक्ष लिम्बु र उनका दाजुसहित एक दर्जन विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले मुद्दा दर्ता गरेपछि सोमबार पक्राउ पुर्जी जारी भएपनि सबै फरार भएका थिए। प्रहरीले फरार भएकाहरूलाई खोजी कार्य तीव्र पारिरहेको जनाएको छ। नागरिक दैनिक
प्रतिक्रिया