Logo

मंसिर ४, बाई–बाई लिट्टे सरकार!



जसले फलका लागि कर्म गर्छ, वास्तवमा न उसलाई फल प्राप्ति हुन्छ न त्यो कर्म नै ठहरिन्छ– गीता।

विश्वको सर्वशक्तिशाली ग्रन्थमा उल्लिखत यस पंक्ति र नेपाली राजनीतिको मियोँलाई दाँज्दा विपरित अर्थ देखिन्छ। चुनाव प्रचारका अन्तिम दिनसम्म पनि ‘कसको सरकार?’ भन्ने चर्चा थियो। रगतको आहालबाट उठेको राजनीतिदेखि प्रजातन्त्र, लोकतन्त्रका नाममा ७ दशक लामो रोग दिइरहेकाहरू मैदानमा छन्। यसबारे मौन अवधिमा यहाँभन्दा धेरै नभनौं।

तर, रगतको राजनीतिको आयु लामो हुँदैन भन्ने उदाहरणचाहिँ पेस गरौं। क्रान्तिका अनेक आयाम हुन्छन् र त्यो बुलेट (हतियार)ले मात्र होइन, ब्यालेट (मतपत्र)ले नै सम्भव हुन्छ। यदि बुलेटको अहंकार र ब्यालेटको राजनीतिमा फोहोरी खेल खेलियो भने कसरी अन्त्य हुन्छ र भाग्नुपर्छ भन्ने उदाहरणचाहिँ छिमेकी मुलुक श्रीलंका दुई उदाहरण पर्याप्त हुनेछन्।

पहिलो त बिद्रोही नेताको दुखान्त र दोस्रो निर्वाचित तर भ्रष्ट राजनीतिको भगौडा वर्तमानले स्पष्ट पार्दैन र? कुनै समय श्रीलंकाको लिट्टे समूहको जगजगी दुनियाँभर थियो भन्ने भुल्न हुँदैन।

त्यसको संक्षेपमा केही चर्चा गरौं–

लिवरेशन टाइगर्स अफ तामिल इलम (लिट्टे) जसलाई तामिल टाइगर्सका रुपमा पनि चर्चा गरिन्थ्यो, त्यसका प्रमुखको अन्त्य कसरी भयो? स्मरण गरौं। उत्तरी श्रीलंकमा मुख्यालय राखेर १९७६ मा स्थापित यो संगठनका हतियारधारी आन्दोलनले विश्वलाई हल्लाएको थियो।

हिंस्रक र पृथकतावादी अभियानसहित यो संगठनले एउटा स्वतन्त्र राज्य स्थापनको अभियानमा थियो। एसियामा सबैभन्दा लामो समयसम्म युद्ध चलाउने यो संगठनको अन्त्य २००९ मा भयो। यसका प्रमुख बेलुपिल्लई प्रभाकरणको लाससँगै रगतको राजनीति समाप्ति भयो। १८ मे २००९ मा स्थानीय सेनाले प्रभाकरणलाई मारेको घोषणा गरेको थियो।

यो संगठन दुनियाँको सबैभन्दा शक्तिशाली गुरिल्ला लडाकु भएको मानिन्थ्यो र सन १९९१ मा भारतीय प्रधानमन्त्री राजीव गान्धी, १९९३ मा श्रीलंकाका राष्ट्रपति प्रेमदासा रनसिंघेलगायत कयौंको हत्या गरेको आरोप पनि थियो। बाल सैनिकलाई भर्ती गर्ने, आत्मघाती बम विस्फोट गराउने, ठूला हस्तीमाथि आक्रमण गर्नेलगायतका हत्कण्डका कारण यो संगठन कुख्यात भइसकेको थियो। यसका नेता प्रभाकरणको नाम नै जगजगी थियो। विकल्पमा अन्य नेताको कुनै गुञ्जायस थिएन।

भ्रष्टाचारको चरम सीमा नाघिसकेको स्थितिको बेखबर कोही छ र? के नेपाली जनता पनि श्रीलंकाका जनताजस्तै बन्ने हो कि मौन आन्दोलनको उचित समयको सदुपयोग गर्न लाग्ने हो? २४ घन्टामा पुरै सिस्टम बदल्न सक्ने अहम् मौकाको उपयोग गर्ने कि नगर्ने भन्ने प्रश्नको टाकुरामा अब आम जनता छन्

चार पटक शान्ति वार्ता गर्दा पनि सम्भव नभएपछि युद्धको चरम अवस्था आयो र प्रभाकरणको अन्त्यसँगै श्रीलंकामा एउटा समस्याको समाधान भयो। तर के श्रीलंकामा आतंकको अन्त्य भएपछि समस्या समाधान भयो त? भएन। एउटा परिवारको वरिपरि राजनीति र सत्ता घुम्दा देश कंगाल भयो। आजित जनताको मौन विद्रोह आवाजमा परिणत भयो र हालसालैका दिनमा राष्ट्रपति नै देश छाडी भाग्नुपर्ने अवस्था आएको थियो।

गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजीनामा मात्र दिएनन् श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर भाग्नु परेको थियो। चरम भ्रष्टाचार, परिवारवाद र सत्ताको फाइदा उठाउँदा युद्धले सिथिल हुँदै उठेको मुलुक फेरि संकटको घेरामा पुग्यो।

अब नेपालतिर यहि नियतीबारे घोत्लिएर सोचौं–

राष्ट्र बैंकका गभर्नरले नै नेपालको आर्थिक अवस्था श्रीलंकाको लयमा हिँडेको बताउनुको अर्थ के होला? प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममा कर्मचारीलाई तलब समेत खुवाउने पैसा नभएको र ऋण लिनुपरेको बताउनुको अर्थ के होला?

कसका कारणले यो नियतिमा मुलुक पुग्यो? लिट्टेले चलाएको युद्धको जस्तै नेपालीजनले समान समय नभोगेका होइनन्। फेरि संविधान जारी भएसँगैको भ्रष्टाचार र अतिचारको राजनीतिलाई लामो समयसम्म झेलेकै छन्। प्रत्येक घर र व्यावसायको अहिलेको हविगतलाई मनन गर्दा राज्य दोषी हो कि होइन? भ्रष्टाचारको चरम सीमा नाघिसकेको स्थितिको बेखबर कोही छ र? के नेपाली जनता पनि श्रीलंकाका जनताजस्तै बन्ने हो कि मौन आन्दोलनको उचित समयको सदुपयोग गर्न लाग्ने हो? २४ घन्टामा पुरै सिस्टम बदल्न सक्ने अहम् मौकाको उपयोग गर्ने कि नगर्ने भन्ने प्रश्नको टाकुरामा अब आम जनता छन्।

त्यसअघि राजनीतिको मियाँ मै हुँ भन्नेहरूप्रति केही तथ्यगत कटाक्ष छन्। रगतका बाछिटाले इतिहास लेख्न सकिन्न। जसले लेख्ने कोशिश गर्छ उसको हविगत प्रभाकरणको जस्तै हुनेछ। श्रीलंकामा बुलेटले भएको त्यो दुखान्त, नेपालमा ब्यालेटले हुनेछ।

यदि रगतका बाछिटाले शासनको निरन्तरता हुने थियो भने नेपाल अहिले पनि राणाकालिन युगमा हुने थियो। जंगबहादुरले सुरु गरेको कोत र भण्डारखाल पर्वको इतिहास यति कुरुप अर्थमा चित्रित हुने थिएन। आधुनिक जंगबहादुरहरूले क्रान्तिलाई रगतको मसीमा मात्र देखेका छन् यो आँसुको विद्रोह बुलेटले होइन ब्यालेटले गर्न सक्छ भन्ने मंसिर ४ को नतिजाले प्रमाणित गर्छ, गर्नुछ।

अहिलेको परिदृश्यमा आम मानिस घोत्लिनु अनिवार्य छ। राजनीतिप्रति कुनै चासो नै नराख्ने पुस्ताका प्रतिनिधि किन मैदानमा उत्रिए होला? किन प्रतिस्पर्धामा छरिए होला? दलीय व्यवस्थाको विकल्पमा व्यक्ति–व्यक्ति किन मैदानमा आएका होलान्? लोकतन्त्रका नाममा भएका व्यवस्था र अनेक पटक परिवर्तन भएका सरकार र भागशान्तिको परिदृश्यले कस्तो बनायो मुलुक? युद्धदेखि शान्तिसम्मका गफाडीहरूका विकल्प किन खोजियो? लोकतान्त्रिक व्यवस्थामा राजनीतिक व्यक्ति वैचारिक र व्यवाहारिक रुपमा किन लिलिपुट देखिए? यसका उत्तरहरू खोज्ने बेला आएको छ। सही उत्तर यहि नै हुनेछ यो २४ घन्टामा कि मन–मनमा बजिरहोस्– मंसिर ४, बाई–बाई लिट्टे सरकार!

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार १३:४३

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट