Logo

एमाले र राप्रपालाई एक अर्काको साथ अनिवार्य, हिन्दूराष्ट्रका बारेमा लचकता देखाउलान् ओलीले



काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते एकैपटक गर्ने सरकारले निर्णय गरेसँगै राजनीतिक दलहरु चुनावी तयारीमा लागिसकेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुले आफूले चुनाव लड्ने स्थानमा उम्मेदवारी घोषणाको कार्यक्रम राख्न थालिसकेका छन् ।

सत्ता गठबन्धन दलहरु पनि स्थानीय तहको चुनाव जस्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावमा पनि तालमेल गरेर अगाडी बढ्ने निर्ण गरिसकेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतका ५ दलहरु यसपटकपनि चुनावी तालमेल गर्ने निर्णय गरेपनि सिट बाँडफाडको टुँगो भने लागिसकेको छैन ।

आउँदो निर्वाचनमा ५ दलहरुसँग महन्थ ठाकुर नेतृत्वको लोसपा पनि मिसिने तयारीमा छ । त्यति मात्र होइन बाबुराम भट्टराईको नयाँ पार्टी पनि सत्ता गठबन्धनकै पछि लागिरहेको देखिन्छ । यी दुई दलका शिर्ष नेताहरु गठबन्धन दलका नेताहरुसँग भेट गरिरहेका छन् । यता, नेकपा एमाले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चु्नावी तालमेलको तयारीमा छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, केन्द्रिय सदस्य रेखा थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरिसकेका छन् । शनिवार बिहान ओलीसँग भेट गर्न अध्यक्ष लिङ्देन ओली निवास बालकोट पुगेका थिए । भेटपछि लिङ्देनले आफूहरुबीच आउँदो चुनावकै बिषयमा कुराकानी भएको बताए । आउँदो निर्वाचनमा राप्रपा अध्यक्ष लिङ्देन झापा ३ बाट लड्दैछन।

सत्ता गठबन्धन दलहरु चुनावी तालमेल गर्दा एमालेलाई धेरै ठाउँमा अफ्ठ्यारो पर्ने सम्भावना देखिएपछि अहिले एमाले नै राप्रपासँग तालमेल गर्न अग्रसर भइरहेको छ । यी दुई पार्टीले नै अहिले एक अर्काको साथ अनिवार्य देखेका छन् । ओली र लिङ्देनबीच सिट बाँडफाडका बिषयमा मात्र कुराकानी भइरहेको छ या एजेण्डाका बिषयमा पनि कुराकानी भइरहेको छ भन्ने धेरैको चासो पनि छ ।

राप्रपाले हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा लिदै आइरहेको छ । यो एजेन्डाका बिषयमा ओलीले लचकता देखाउलान् रु ओलीले हिन्दू राष्ट्रका बिषयमा सकरात्मक भए पनि राजसंस्थामा ध्यान कदापी लादैनन् । सपथ लिंदा ईश्वरको सपश लिन नमान्ने ओलीले राप्रपाको एजेन्डामा सहमती गर्लान् भन्न पनि सकिदैन ।

यसअघि २०७४ सालको चुनावको कुरा गर्दा, राप्रपाले कांग्रेससँग गठबन्धन गरेको थियो । तर ओली र लिङ्देनकै जिल्ला झापामा भने एमाले र माओवादी केन्द्र तथा राप्रपाबीच गठबन्धन भएको थियो । यीनीहरुले एकले अर्कालाई चुनावी तालमेल गरेर सघाएका थिए ।

अहिले पनि झापामै दुवैलाई सहज जितका लागि एकले अर्कालाई सहयोग चाहिने अवस्थामा रहेको छ । राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि ओली केही समय टाढिएका थिए । त्यति मात्र होइन कांग्रेसको महाधिवेशनमा लिङ्देनले अहिले गाउँघरमा नेताहरुलाई जनताले चोर भन्न थालेको बताएपछि ओलीले जंगिदै सोही मञ्चमै रिसाएका थिए । अहिले अब दुवैलाई चुनावमा एकअर्काको खाँचो छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १७:५१


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113