सरकारले दिने सेवासुबिधाको २५ प्रतिशत रकम समाजसेवामा खर्चिने वडाध्यक्ष गुरुङको घोषणा-Sutra News

सरकारले दिने सेवासुबिधाको २५ प्रतिशत रकम समाजसेवामा खर्चिने वडाध्यक्ष गुरुङको घोषणा

बिहिबार, २३ असार २०७९

बिहिबार, २३ असार २०७९

आरुघाट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजीव गुरुङले सरकारले दिने सेवासुविधा बापत पाउने रकमको २५ प्रतिशत सामाजिक काममा खर्च गर्ने घोषणा गरेका छन् ।



वडाध्यक्ष भएबापत भत्ता र मासिक रूपमा पाउने पारिश्रमिक रकमको २५ प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने उनले बताए ।

‘मैले वडाध्यक्षको उम्मेदवारी दिँदा पनि जनता सामु भनेको थिएँ, म वडाध्यक्ष भएँ भने सरकारले दिने सेवासुबिधाको केही प्रतिशत समाज सेवामै खर्च गर्छु भनेर त्यो बाचा पनि पुरा गरेको हुँ । अर्को कुरा मेरो अन्य केही व्यवसायहरू पनि छ । म नितान्त समाजसेवाका लागि वडाध्यक्ष भएको हो, जनताले दिएको मतले विजयी भएर जनप्रतिनिधि हुँदै गर्दा आएको सेवा सुविधाको हकदार आम जनता पनि हुन्, त्यसैले म उहाँहरूकै पक्षमा २५ प्रतिशत रकम पनि खर्च गर्नेछु’, वडाध्यक्ष गुरुङले भने ।

हालसालै सम्पन्न निर्वाचनबाट वडाध्यक्ष बनेका गुरुङ नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । उनले आफूले पाएको सेवासुबिधाको २५ प्रतिशत हिसाब गरेर प्रत्येक ६/६ महिनामा एकमुस्ट समाजसेवामा खर्चिने बताए ।

‘अहिलेसम्म मैले सेवासुबिधा पाएको छैन । अब छिट्टै खातामा आउँला । प्रत्येक महिना दिने होइन,  ६/६ महिनामा एकमुस्ट हिसाब गरेर तत्कालीन समाजका लागि आवश्यक चौतर्फी योजनाहरू हेरेर, अवस्था हेरेर जहाँ वडाको बजेटले सम्बोधन गर्न नसक्ने अवस्था छ तर सम्बोधन नगरी हुन्न । त्यस्तो सामाजिक काममा खर्च गर्ने हो’, उनले भने ।

आफूले पाउने सेवासुबिधा समाजसेवामा खर्चिने घोषणा गर्दा भत्ता खान, पैसा कमाउन मात्रै जनप्रतिनिधि भएको भन्ने खालको महसुस जनताले नगर्ने उनको तर्क छ ।

‘सामान्य सेवा सुविधा उपभोग गर्नु उचित भए पनि जनताको सेवा गर्न चुनिएको जनप्रतिनिधिले तिनै जनता र राज्यलाई नै ऋणको भार थपिने गरी सुविधा उपभोग गर्नु उचित हुन्न भन्ने मलाई लाग्छ । फेरि सेवासुबिधा बापतको रकम समाजसेवामा खर्चिँदैमा मात्रै ठूलो काम गरेँ भनेर पनि बस्न हुन्न । हामी जनताको सेवा गर्न आएका हौं, प्राप्त अधिकार र स्रोत साधनको भरपुर प्रयोग गरेर जनताका मनोभावना र चाहाना अनुसार उत्तरदायी भएर काम गर्नुपर्छ’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट