नुवाकोट कांग्रेसमा महत र केसीको द्वन्दः टिकटमा हुने चलखेलविरुद्ध निरन्तर दवाव-Sutra News

नुवाकोट कांग्रेसमा महत र केसीको द्वन्दः टिकटमा हुने चलखेलविरुद्ध निरन्तर दवाव

आइतबार, ११ बैशाख २०७९

आइतबार, ११ बैशाख २०७९

नुवाकोट जिल्लामा गठबन्धनको चुनावी तालमेल करिब करिब असफल भएको छ । कांग्रेसभित्रको आन्तरिक गुटबन्दी र सर्वसत्तावादी सोचका कारण गठबन्धन धरापमा पर्न लागेको हो । कांग्रेस जिल्ला सभापति रमेश महतले पार्टीभित्रकै अर्को समूहलाई समायोजन गर्न नसक्दा तालमेल निष्कर्षविहीन बन्न पुगेको कांग्रेस नेताहरु नै बताउँछन् ।



महत आफूसँग झिनो मतान्तरमा जिल्ला सभापतिमा पराजित भएका डा. केदारनरसिंह केसी समूहलाई निस्तेज गर्ने पक्षमा देखिएका छन् । उनले जिम्मेवारी बाँडफाँड गर्नेदेखि महत्वपूर्ण छलफल गर्ने कुरामा उक्त समूहलाई निषेध गर्दै आएका छन । विगतमा कांग्रेसको कोइराला समूहमा रहेका महत अब नुवाकोटमा बहादुरसिंह लामाको साथमा आफ्नै गुट निर्माणमा लागेका छन् ।

केहि ठाउँमा महत र केसी समूहका नेता कार्यकर्ताहरू टिकट कसले पाउने भन्ने विवाद हुँदा कुटाकुटमै उत्रिएका थिए । कांग्रेसमा यसपटक पनि आफ्ना निकटकालाई टिकट वितरण गर्ने अवस्था रहेको स्वयं कांग्रेसका नेताहरूको दावी छ । जसका कारण पार्टीभित्र अर्को समूहले जिल्लाका सबै पालिका र वडामा समानान्तर रूपमा उम्मेदवार खडा गर्ने प्रवल संभावना देखिएको छ ।

यतिखेर कांग्रेसभित्रको कमजोरी छरप्रस्ट भएको छ । समुहगत द्वन्दले गर्दा एकले अर्कोलाई निषेध गर्ने प्रपञ्च रचिरहेका छन् । विगतको निर्वाचनमा चर्चा पाएको टिकट बिक्रि काण्ड पुनः दोहोरिन सक्ने संवाभना रहेको कांग्रेस बृत्तमै व्यापक चर्चा परिचर्चा भइरहेको छ । साँच्चै टिकट बिक्रि काण्ड दोहोरियो भने कांग्रेसभित्रका इमान्दार, निष्ठावान र क्षमता भएका नेता कार्यकर्ता रिङ आउट हुने र नेताको भक्तिगान गर्ने र टिकटको मूल्य तिर्नसक्ने मात्रै उम्मेदवार बन्दा कार्यकर्ता पंक्ति र आम जनमानसमा नकारात्मक संदेश प्रवाह भइ निर्वाचन परिणाम प्रतिकुल निस्कने खतरा रहेकोमा कांग्रेसीहरु चिन्तित छन् ।

जिल्लामा पार्टीका दुई शक्तिशाली नेता रामशरण महत र अर्जुन नरसिंह केसीबाट विवेकसम्मत निर्णय भइ पार्टीको साख जोगिनेमा कार्यकर्ता अझै आशावादी छन् । दुइ नेतालाई सोहिअनुरुप दवाव सिर्जना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट