माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाः चार अर्बको बिजुली बेच्यो, लक्ष्य नौ अर्ब-Sutra News

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाः चार अर्बको बिजुली बेच्यो, लक्ष्य नौ अर्ब

मंगलबार, ६ बैशाख २०७९

मंगलबार, ६ बैशाख २०७९

स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सात महिनाको अवधिमा चार अर्ब रूपैयाँ बराबरको बिजुली उत्पादन गरेको छ। आयोजनाले सो अवधिमा एक अर्ब युनिटभन्दा धेरै बिजुली उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बेचेको हो।



आयोजनाले भदौ २५ गतेदेखि व्यापारिक बिजुली उत्पादन सुरु गरेको थियो। आयोजनाले चैत मसान्त अर्थात् सात महिनाको अवधिमा एक अर्ब ६ करोड युनिट बिजुली उत्पादन गर्दै चार अर्ब ३० करोड रूपैयाँ बराबरको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बेच्न सफल भएको हो।

अपर तामाकोसी हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख दिनेशजंग राणाले चालु आर्थिक वर्षको भदौ महिनाको अन्तिम सातादेखि आयोजनाले छ वटै युनिटबाट ४ सय ५६ मेगावाट बिजुली उत्पादन गर्दै आइरहेको बताए। ‘आयोजनाले गत भदौ महिनाको अन्तिम साता यता एक अर्ब ६ करोड युनिट बिजुली उत्पादन गरेर प्राधिकरणलाई बेच्यौ’, उनले भने– ‘प्राधिकरणले छोटो अवधिमा नै चार अर्ब रूपैयाँभन्दा धेरैको बिजुली उत्पादन गरेर प्राधिकरणलाई बेच्यौ’, उनले भने– ‘आयोजनासँग वार्षिक औसत २२ सय ८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने क्षमता छ।’

कम्पनीले वर्षभरिमा आफ्नो क्षमता अनुसार बिजुली उत्पादन गर्न सकेको खण्डमा ९ अर्ब २६ करोड रूपैयाँ आम्दानी गर्न सक्छ। गत चैतको पहिलो साता नेपालका अधिकांश नदीनालामा पानीको बहाव घटेको थियो। त्यस्तै रुस र युक्रेनको युद्धको कारणले विश्वव्यापी रूपमा ऊर्जाको संकट अत्यधिक बढेको थियो। रुस र युक्रेनको युद्धसँगै भारतमा कोइलाबाट उत्पादन हुने बिजुलीको भाउ ह्वातै बढेको थियो।

नेपालले हिउँदमा करिब एक चौथाइ अर्थात् दैनिक ३ सयदेखि चार सय मेगावाट बिजुली भारतबाट आयात गरेर स्वदेशी माग थेग्दै आइरहेको थियो। त्यही बेला भारतीय ऊर्जा बजारमा भने बिजुलीको भाउ अत्यधिक मात्रामा बढ्यो। त्यो समयमा प्राधिकरणले प्रतियुनिट भारु २० बोलकबोल गर्दा समेत बिजुली पाउने अवस्था थिएन।

स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोसीले भने बिजुलीको अत्यधिक माग हुने बिहान र बेलुकाको समय (पिकआवर) मा पूर्ण क्षमतामा बिजुली उत्पादन गरेर ऊर्जा संकट भएका बेला मलम लगाउने प्रयास गर्‍यो।

कम्पनीका आयोजना प्रमुख राणाले माथिल्लो तामाकोसी आएसँगै गत चैतमा देखिएको ऊर्जा संकट निवारणमा आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। ‘अहिले माथिल्लो तामाकोसीले पिकआवरको मागको एक चौथाइ हिस्सा ओगट्दै आइरहेको छ’, उनले भने– ‘यो आयोजनाले विश्वव्यापी रूपमा देखिएको ऊर्जा संकटलाई पछिल्लो समय समाधान गर्न ठूलो भूमिका निर्वाह गर्‍यो।’ आयोजनाले अहिले विहान र बेलुका दुई/दुई घण्टा पिकआवरमा पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ।

‘प्राधिकरणको भारपे्रषण केन्द्रले गरेको डिमान्ड अनुसार बिजुली उत्पादन गर्दै आइरहेका छौं’, आयोजना प्रमुख राणाले भने– ‘आयोजनाले वार्षिक औसत २२ सय ८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने क्षमता राख्छ।’

कम्पनीले वर्षभरिमा आफ्नो क्षमता अनुसार बिजुली उत्पादन गर्न सकेको खण्डमा ९ अर्ब २६ करोड रूपैयाँ आम्दानी गर्छ। तामाकोशीले उत्पादन गरेको बिजुली औसतमा प्रतियुनिट ४.०६ रूपैयाँको दरले प्राधिकरणले खरिद गर्दै आइरहेको छ।

सरकारले २०६५ सालमा ४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरेको थियो। अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समितिको २०६५ साल चैत ७ गते बसेको बैठकले आयोजना ब्याजसहित ४८ अर्ब रूपैयाँमा पाँच वर्षमा निर्माण सक्ने योजनासहित काम अघि बढाउने निर्णय गरेको थियो। सुरुमा ३५ अर्ब २९ करोड रूपैयाँ अनुमान गरिएको थियो तर आयोजनाको लागत थप १७ अर्ब रूपैयाँ बढेर ब्याजबाहेक ५२ अर्ब रूपैयाँ पुगेको छ।

तोकिएको पाँच वर्षे निर्माण अवधिमा ब्याज १४ अर्ब लाग्ने अनुमान गरिएको थियो तर आयोजनाको ब्याज मात्रै १८ अर्ब थपिएको छ। प्राधिकरणले तामाकोसीको बिजुली प्रतियुनिट ४.०६ रूपैयाँको दरले किनेर प्रतियुनिट औसतमा ९ रूपैयाँ ५० पैसाको दरले बिक्री गर्न सक्थ्यो। आयोजना तोकिएको समयमै नबन्दा प्राधिकरणले पनि प्रत्येक वर्ष १० अर्बको दरले ६ वर्षमा ६० अर्ब रूपैयाँ आम्दानी गुमाएको छ।

यो आयोजनामा सेयर लगानी गरेका लगानीकर्ताले पनि ६ वर्षको अवधिसम्म प्रतिफल प्राप्त गर्न सकेका छैनन्। आयोजना पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०६७ सालको भदौमा सिभिल वर्कको काम सुरु गरिएको थियो। तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६८ साल जेठ ४ गते आयोजना शिलान्यास गरेका थिए। कम्पनीका आयोजना प्रमुख राणाले २०७२ सालको भूकम्प र नाकाबन्दी, लामोसाँघु–चरिकोट सडक स्तरोन्नतिका कारण ढुवानीमा अवरोध, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोना महामारी जस्ता कारणले तोकिएको समयमा निर्माण हुन नसकेको बताउँछन्।

आयोजनाको काम चार भागमा वर्गीकरण गरेर ठेक्का दिइएको थियो। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लट २ हाइड्रोमेकानिकल इक्विम्मेन्ट डिजाइन, म्यानुफ्याचरिङ, सप्लाइ, इरेक्सन, टेस्टिङ र कमिसनिङको ठेक्का भारतीय कम्पनी टेक्स्म्याको रेल्वे इञ्जिनियरिङ लिमिटेडले पाएको थियो। भारतीय कम्पनीले हाइड्रोमेकानिकल अन्तर्गत पेनस्टक पाइप जडानमा आलटाल गरेको थियो।

वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हालसालै तामाकोसी आयोजनाको अवलोकन भ्रमण गर्दै आयोजनाको समय र लागत वृद्धिलाई छाडेर हेर्ने हो भने मुलुकको लागि निकै राम्रो परियोजना भएको बताए। ‘यसले राष्ट्रलाई मात्रै नभएर, यदि आयोजनाको लागत नबढेको भएमा मुलुकका जनताको मन र मस्तिस्कमा समेत ऊर्जा बढाउने काम गरेको हुन्थ्यो’, उनले भने– ‘स्वदेशी लगानीमा अहिलेसम्मकै ठूलो परियोजना बनाएर साच्चिकै लोभलाग्दो काम गरेको छ।’ नागरिक दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट