एमसीसीविरोधी नेतासँग हिमचिम बढाउँदै विप्लव, के हो उनको स्वार्थ ?-Sutra News

एमसीसीविरोधी नेतासँग हिमचिम बढाउँदै विप्लव, के हो उनको स्वार्थ ?

बिहिबार, १९ फाल्गुन २०७८

बिहिबार, १९ फाल्गुन २०७८

एमसीसीविरुद्ध उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले केहीदिन यता राजनीतिक सक्रियता बढाएका छन् ।



गत आइतबार प्रतिनिधि सभाले अमेरिको सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित पारित गरेपछि विप्लवले सक्रियता बढाएका हुन् ।

उनले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमसीसी सम्झौताको संसदमा चर्को बिरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छेसँग भेटवार्ता र छलफल गरेका छन् । विप्लवले एमसीसी बिरोधी नेताहरुलाई आफूहरुको समूहले आयोजना गर्न लागेको एमसीसीविरुद्धको सभामा सहभागी गराउन पहल गरिरहेको जनाइएको छ ।

अहिलेसम्म विप्लवले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एमालेका नेता भीम रावल नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालगायत अन्य थुप्रै नेताहरुलाई भेटिसकेका छन् । उनले भेटेका प्राय नेताहरु एमसीसीको विरोधी हुन् ।

हिजो नेता चन्द नारायणकाजीकै निवास हात्तीवन पुगेका थिए । उनले श्रेष्ठसंग पार्टी एकताको प्रस्तावसमेत राखेको बताइन्छ ।

एमसीसीको विषयलाई लिएर माओवादीमा प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच टकराव भइरहेका बेलामा राजनीतिक  सहकार्यको  प्रस्ताव लिएर विप्लव हात्तीवन पुग्नुलाई निकै नै अर्थपूर्ण तरिकाले हेरिएको छ ।

त्यस्तै आज विप्लव र नेता खड्ग विश्वकर्मा नेता रावलकै निवासमा गएर भेटवार्ता गरेका थिए ।  । भेटमा विप्लवले राष्ट्रिय स्वाधीनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिएका थिए ।

भेटवार्तापछि ट्वीट गर्दै नेता रावलले देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने बताएका थिए ।

‘आज नेकपाका महासचिव नेत्र विक्रम चन्द ुविप्लवु र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो’, भेटपछि रावलले ट्वीटरमा लेखका छन् , ‘देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।’

उनीहरुबीचको भेटवार्तामा एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका पक्षमा कुरा भएको बताइएको छ । एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षा लागि एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ ।

विप्लवको पछिल्लो सक्रिय भेटवार्ताका कारण अन्य नेताहरु झस्किएको देखिएको छ ।

एमसीसी विरोधी सहितका नेताहरुसंग मिलेर विप्लवले संघर्ष गर्नुपर्छ भन्ने कुराले राजनीतिमा नयाँ तरंग आउँदैछ भन्ने कुराको पनि आंकलन गर्न सकिन्छ ।

केही नेताहरुले विप्लवको सक्रियता शक्ति प्राप्त गर्ने प्रयास भएकोसमेत बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारले ठहर गरेको थियो ।

तर त्यसको केही समयपछि विप्लवमाथि लागेको प्रतिबन्ध फुकुवा भयो । केपी ओलीकै पालाको सरकारले विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको थियो ।

त्यतिबेला सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ‘विप्लव’ समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर सहमति पत्रमा हस्ताक्षर गरेका गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट