आलोचना हुने डरले मन्त्रालय विभाजनको निर्णय गुपचुप-Sutra News

आलोचना हुने डरले मन्त्रालय विभाजनको निर्णय गुपचुप

सोमबार, १७ माघ २०७८

सोमबार, १७ माघ २०७८

प्रदेश १ मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन सम्बन्धि गरेको निर्णयलाई गुपचुप राखेको पाइएको छ । आम रुपमा आलोचना हुने डरले मन्त्रिपरिषदको निर्णय गुपचुप राखिएको हो ।



सत्तारूढ ५ दलीय गठबन्धन सरकारले भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । प्रदेश १ मा हाल मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालय छन् ।

आइतबार साँझ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारका संरचना निर्माण र नामांकनका लागि सहजीकरण गर्न कार्यदल गठन गर्ने निर्णय भएको मात्रै पनि मन्त्रालय विभाजनको कुरा उल्लेख नै गरेनन् ।

मन्त्री आङ्बोले केहि जानकारी नदिएपनि मन्त्रिपरिषद्ले कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय संख्या ७ बाट १२ बनाउने निर्णय गरेको स्रोतले बतायो । विभाजनको निर्णय सार्वजनिक गर्दा आलोचना हुने भएका कारण निर्णय गुपचुप राखिएको स्रोतको दावी छ ।

मन्त्री आङ्बोले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधनको प्रस्ताव मन्त्रीहरुलाई अध्ययनका लागि उपलब्ध गराइए पनि निर्णय भइनसकेको दावी गरे । तर सम्भावित आलोचनाको डरले मन्त्रालय विभाजनको निर्णय केही दिनपछि सार्वजनिक गर्ने सहमति भएको मन्त्रिपरिषदकै एक सदस्यले बताए ।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना खेपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट