Logo

बालुवाटारमा ‘बिन्दास’ देउवा !



सन् २००८ मा अमेरिकाको राष्ट्रपति बनेका बाराक ओबामाको चुनावी अभियानमा एउटा नारा चर्चित थियो थियो – ‘यस वी क्यान’ । उनले भाषणहरूमा पटक-पटक भन्ने गर्थे, ‘हामीलाई परिवर्तित अमेरिका चाहिन्छ ।’ यीनै नाराहरूको सहारामा ओबामा पहिलोपटक अमेरिकाका अश्वेत राष्ट्रपति बने । सन् २०१२ मा उनले यस्तै चर्चित नारा ल्याए – ‘मिडल क्लास फर्स्ट’ अर्थात् मध्यमवर्गलाई प्राथमिकता । निसन्देह उनले अर्को कार्यकाल पनि जिते ।

सन् २०१४ मा भएको निर्वाचनमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले ‘अच्छे दिन आने वाले हैं’ नामको बहुचर्तित नारा दिएका थिए । चुनाव जितेपछि उनले ‘ भारत की विजय । अच्छे दिन आने वाले हैं ।’ भन्दै ट्वीट गरे, यो ट्वीट अहिलेसम्म भारतमा सबैभन्दा बढी रिट्वीट गरिएको पोस्ट थियो ।

२०१४ मा मोदी आएपछि भारतमा राम्रा दिन आए आएनन् त्यता नजाऔं । २०१९ को आम निर्वाचनमा मोदीले अर्को नारा ल्याए । ‘मोदी है तो मुमकिन है’ अर्थात् मोदी भएपछि सबै सम्भव छ भन्ने नारालाई भारतीय जनता पार्टीले चुनावी अभियानमा प्रयोग गर्यो । प्रचण्ड बहुमतका साथ मोदीले अर्को कार्यकालका लागि पनि चुनाव जिते ।

रुसको प्रसंग पनि यहाँ उल्लेख गरौँ । भ्लादिमिर इलिच लेनिनले क्रान्तिका लागि ‘रोटी र जमिन’को नारा दिए । नेपालकै प्रसंग हेर्ने हो भने बि.सं. २०७४ को चुनावमा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादको बलमा एमालेलाई पहिलो पार्टी बनाएका थिए । वाम गठबन्धनको संयुक्त घोषणापत्रमा ‘गाउँदेखि केन्द्रसम्म वामपन्थी सरकार’ चुनावी नारा रहेको थियो ।

त्यही चुनावमा कांग्रेसको चुनावी नारा थियो – ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धि अभियान ।’ यसले खासै चर्चा पाउन सकेन । सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस चुनावमा होमिएको थियो । देउवाले कम्युनिस्टले जिते अधिनायकवाद आउने, जनताले रुन पनि नपाउने जस्ता जनतालाई खासै नछुने कुराहरू बोलिरहेका थिए । सात पटकसम्म प्रधानमन्त्री हुने आफ्नो ज्योतिषीय योग रहेको भन्दै देउवाले गरेको भाषण उनकै लागि प्रत्युत्पादक भयो ।

नारा राम्रो या नराम्रो भएकै कारण चुनावमा हारजित हुने होइन । तर नाराहरू चुनावी अभियानमा महत्त्वपूर्ण हुन सक्छन् यदि तिनीहरूले देशको मूड वा उम्मेदवारको गुणस्तर वा मतदातासँग प्रतिबद्धता गर्छन् । यो सधैं फलदायी नहुन सक्छ, तर जब पपुलर हुन्छ, यसले चुनावी परिणामलाई पल्टाइदिन सक्छ ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले सभापतिमै उम्मेदवारी दिन चाहेका छन् । औपचारिक रूपमा देउवाले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा त गरेका छैनन् तर अनौपचारिक रूपमा उनी सभापतिमा दोहोरिन चाहेको विषय लुकेको छैन ।

सोमवार आफ्नो सरकारी निवास बालुवाटारमा आफूनिकट केही पत्रकारहरूलाई बोलाएर आफू पुनः सभापतिमा उठ्ने संकेत गरे । उनले भने, ‘म सभापति भएँ भने कांग्रेसलाई राम्रै हुन्छ ।’ ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिएलगत्तै देउवाले बालुवाटारमा फेरि सभापतमिा उठ्ने र चुनाव जित्ने दाबी गरेका हुन् ।

एक सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेश अधिवेशनमा आफ्नो पक्षको बहुमत रहेको उनको दाबी छ । देउवा पक्षले ३१ वटा जिल्ला सभापति जित हात पारेको छ । ६ मध्ये दुई प्रदेशमा सभापति जितेको छ ।

७५ वर्षका देउवा दोस्रो कार्यकालका लागि सभापति भए भने कांग्रेसले के पाउला ? देउवाले भनेजस्तो ‘राम्रै हुनेछ’ भनेको के हो ? तेह्रौं महाधिवेशनले देउवालाई सभापति बनाएपछि कांग्रेसले के पायो ? यी प्रश्नका जवाफ देउवाले दिने छैनन् । दिने मूडमा पनि छैनन् ।

२०७४ सालको निर्वाचन हारेपछि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवाले ‘वाम-गठबन्धनका कारण कांग्रेस पराजित भएको’ भन्दै आफू चोखिने प्रयत्न गरेका थिए । जुन हासोलाग्दो विषय थियो ।

मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुन लागेको १४ औं महाधिवेशनका लागि देउवाले खासै तयारी गरेका छैनन् । उनले आफूनिकट नेताहरूलाई आफू पुनः सभापतिमा उठ्ने दाबी गरेका छन् तर त्यसका लागि नारा खोई ? देउवाले जिते भने कांग्रेस कहाँ थियो, कहाँ पुग्छ भन्ने आम कार्यकर्ताले थाहा पाएका छैनन् ।

यद्यपी नेपाली राजनीतिमा चुनाव भनेको साम, दाम दण्ड भेद प्रयोग गरेर जित्ने चीज हो भन्ने स्थापित भएको छ । आम निर्वाचन र दलहरूको आन्तरिक चुनावमा जनता र कार्यकर्तालाई आकर्षित गर्ने नारा र प्रतिबद्धता कसैबाट पनि आउँदैन । आफूनिकट नेता, कार्यकर्ताले भोट हाल्दिए चुनाव जितिने र नहाले हारिने निष्कर्षका साथ अघि बढ्ने प्रचलन व्याप्त छ ।

सभापतिमा देउवानिकट मानिने विमलेन्द्र निधिले दाबी गरिसकेका छन् भने देउवाइतर पक्षले सभापतिको साझा उम्मेदवार कसैलाई चयन गर्न सकेको छैन । करीब आधा दर्जनजति महामन्त्रीका आकांक्षीहरू मैदानमा छन् । सबैले आफूले जिते कांग्रेस र देशलाई केही न केही योगदान दिने बताइरहेका छन् ।

नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको सभापति को बन्ने भन्ने विषयले राष्ट्रिय राजनीतिमा ठूलो अर्थ राख्छ । मास बेस्ड पार्टी भएकाले सभापति बन्न आम जनताका अपेक्षाहरूलाई पनि सम्बोधन गर्नु आवश्यक छ । तर देउवा बिन्दास देखिएका छन् । बालुवाटार बसेर आफ्नो पक्ष र विपक्षी गुटको हिसाबकिताब गरिरहेका छन् ।

आफू बलियो बनेर होइन कि अर्को पक्षलाई कमजोर बनाएर चुनाव जित्ने रणनीति नेपाली राजनीतिको एउटा अंग हो । देउवाले त्यसैलाई प्रमुख हतियार बनाउन खोजेको जस्तो देखिन्छ । सरकारको पनि नेतृत्व गरिरहेका देउवाको अर्को प्लस पोइन्ट सत्ताको प्रयोग पनि हुन सक्छ ।

सभापति जित्नेमा देउवा अझै विश्वस्त छैनन् । आफूइतरको समीकरण कसरी बन्छ भनेर बालुवाटारबाट उनले सिंहावलोकन गरिरहेका छन् । आफ्ना मुख्य विश्वासपात्र निधिले सभापतिमा उम्मेदवारी दिएपछि गरिरहेको तयारीको पनि देउवाले हिसाबकिताब राखिरहेका छन् । भारत र अमेरिकी स्रोतहरूसँग पनि देउवा निरन्तर कुराकानी गरिरहेको कतिपय स्रोतहरूले दाबी गरेका छन् ।

कार्यकर्ता र जनताको मन जितेर चुनाव लड्ने भन्दा पनि विपक्षीको रणनीति असफल पार्ने, आफ्नो गूटमाथि विश्वास गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र समर्थनमा जोड दिने नीति लिएका देउवा कति सफल होलान्, कति असफल त्यो मङ्सिर २६ मा देखिनेछ ।

कांग्रेसको चौधौं महाधिवेशन बालुवाटार शेरबहादुर देउवा

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १४:४८


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला